काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्रको पुनरावलोकन गर्न कार्यविधि पारित गरेर काम सुरु गर्ने सजिलो बनाएको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ ’र सोको कार्यान्वयनका लागि ‘मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत भएको छ ।
पुस २३ देखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ गर्ने र त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति बनाइएको बताइएको छ । समितिले माघ १७ गतेसम्ममा कार्य सम्पन्न गर्नुपर्ने गरी कार्यतालिका बनाइएको बताइएको छ ।
आयोगले सबै जनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आ–आफ्नो तर्फबाट आवश्यक सहयोगको अपेक्षा पनि गरेको छ ।
पुस ५ गते निर्वाचनको मिति घोषणा भएपछि आयोगले निर्वाचन सम्वन्धी कामहरु शुरु गरेको हो ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको निरुपण गर्ने प्रयोजनका लागि आयोगले राजनीतिक दलसम्बन्धी ऐनमा रहेका प्रावधानका विषयमा हिजो पूर्वकानुन सचिवहरूसँग परामर्श गरेको बताइएको छ ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरूले पूर्वकानुन सचिवत्रय जीव गौतम, जुमान सिंह मल्ल, कमलशाली घिमिरे, पूर्वनायब महान्यायाधिवक्ता थोकप्रसाद सिवाकोटीसँग परामर्श गरेको बताइएको छ ।