विराटनगर। भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरेकी छिन् ।
विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आगामी वैशाखमा निर्वाचन गराउन सरकारले आर्थिकको व्यवस्थादेखि सुरक्षा अवस्थालाई थप व्यवस्थित गर्न थालिसकेको बताएकी छिन् ।
निर्वाचन आयोगले समेत तयारी सुरु गरिसकेको वताउँदै मन्त्री तुम्वाहाङ्फेले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेकी छिन् ।
सरकारलाई आफ्नै पार्टी भित्रबाट काम गर्न नदिने र सरकारलाई घेराबन्दीमा पार्न खोजेका कारण प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गर्नु परेको वताउँदै उनले निर्वाचनले मुलुकलाई अग्रगामी निकास दिने विश्वास व्यक्त गरेकी छिन् । ६० प्रतिशत मत पाएको प्रमुख दलको सरकारले विधिसम्वद र संविधान सम्वद रुपमा संसद् विघटन गरेको उनले बताइन् ।
वर्तमान सरकार राष्ट्र, राष्ट्रियताको पक्षमा उल्लेखनीय काम गरेको र वर्षौँदेखि भारतले उपयोग गर्दे आएको भूमिलाई नेपालको नक्सामा समेट्न सकेको दाबी गर्दै मन्त्री तुम्वाहाङ्फेले सरकाले कोभिड –१९ नियन्त्रण रोकथाम तथा मुलुकको समृद्धिका विषयमा उल्लेखनीय काम गरेकाले आगामी निर्वाचनमा यही विषयलाई लिएर जनताको माझमा जाने बताइन् ।