हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने भएको छ ।
आज बसेको बागमती प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको वैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादको प्रभाव प्रदेश तहमा सरेपछि सरकार अप्ठेरोमा परेकै बेला प्रदेशसभाको अधिवेशन शुरु हुने भएको छ ।
केही दिनअघि नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
त्यस्तै उनीहरुको समूहले संसदीय दलको नेताबाट मुख्यमन्त्री पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । उनीहरुले केही दिनअघि राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा शाक्यलाई भावी मुख्यमन्त्रीका रुपमा घोषणा समेत गरेका थिए ।
आज बसेको प्रदेश सरकारको बैठकले राप्ती नगरपालिका चितवनलाई लिजमा जमिन दिने, प्रदेश भ्रमण खर्च नियमावली २०७७ स्वीकृत गर्ने र प्रदेश पर्यटन विकास सम्बन्धमा छलफल गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको बताइएको छ ।
गत साउन ८ गते वर्षे अधिवेशन स्थगित भएपछि हिउँदे अधिवेशन बस्न लागेको हो ।