काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर भीम आचार्यलाई नेता चयन गरेको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको सो समूहले आचार्यलाई मुख्यमन्त्री बनाउन राईलाई दलको नेताबाट हटाएको हो ।
आज बसेको प्रचण्ड–माधव नेपाल नेपाल समुहका बहुमत सांसदको बैठकले नेकपाको संसदीय दलका ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरिएको पत्र प्रदेशसभामा दर्ता गराएको छ ।
प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । अविश्वासको प्रस्तावमा ३७ जनाले राईविरुद्ध हस्ताक्षर गरेपनि बैठकमा ३६ जना मात्रै उपस्थित रहेको बताइएको छ ।
बुधबार दाहाल–नेपाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडललाई संसदीय दलको नेताबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको थियो । मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्तासमेत गरेका उनीहरुले शाक्यलाई मुख्यमन्त्री बनाउने दावी गरेका छन् ।