काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं निर्वाचन क्षेत्र नं. २ को निर्वाचन स्तरीय बिस्तारित बैठक बसेको छ । पुरानो बानेश्वरस्थित न्यु ॐ साई पार्टी प्यालेसमा जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य कृष्ण राईको अध्यक्षतामा वसेको हो ।
भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य युवा नेता ओमकृष्ण प्रसाईले अब पार्टीबाट चोइटिएर जाने सिद्धान्त, नीति, बिचारबिहीन ब्यक्तिहरुको झुन्डले सडकमा आन्दोलन गर्दैमा अदालत र निर्वाचन आयोगलाई प्रभावित पार्न नसक्ने टिप्पणी गरेका छन् । उनले भने “न त अदालतबाट संसद पुनस्र्थापना हुन्छ, न त चोइटिएर गएकाहरुले निर्वाचन आयोगबाट सूर्य चिन्ह नै पाउँछन् ।”
हिजो जनताको वहुदलीय जनवाद (जबज)को नामै सुन्न नचाहने झुन्ड आज मदन भण्डारीको शालीकमा माल्यार्पण गर्न हतारो गरिरहेको भन्दै नेता प्रसाईले ‘छेपारे प्रवृत्तिका मान्छे आफै बडारिएर जाने’ बताएका छन् ।
कार्यक्रममा केन्द्रिय सदस्यहरु प्रकाश गौतम, रमेशकुमार सिलवाल, श्याम कृष्ण भण्डारी, सुबर्ण श्रेष्ठ, मणिराम फुयाल लगायतको उपस्थिति रहेको थियो । काठमाडौ जिल्ला कमिटीको आयोजनामा पुस १८ गते आयोजना हुने भव्य कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने बताइएको छ । जिल्ला कमिटीका अध्यक्ष राईले सो भेला भब्य हुने र त्यसको तयारीका लागि आआफ्नो ठाउँबाट लाग्न सबै नेता÷कर्याकर्तालाई आग्रह गरेका छन् ।