विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाका प्रचण्ड–माधव समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङबुहाङको नेतृत्वको टोलीले अविश्वास प्रस्ताव दर्ता गरेको हो । प्रदेश नं. १ मा नेकपा ६७ सदस्य छन् ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–नेपाल पक्षले भावी मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव समेत गरेका छन् । उक्त प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् ।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य रहेको बताइएको छ । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।
हिजो मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए ।
नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको थियो ।
अर्थमन्त्री आङ्बोलाई मुख्यमन्त्री राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।
सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् ।
अर्थमन्त्री आङबो यसअघि बादल समूहमा थिए । तर, संसद विघटन गरेर पार्टी विभाजन पछि उनले बादलको साथ छाडेर प्रचण्ड–माधव समूहलाई साथ दिएका छन् ।