हेटौँडा । बागमती प्रदेश सरकारविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।
संसदीय दलका उपनेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर सांसदहरुले आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।
अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका छन् । वागमती प्रदेशमा नेकपाका ८० जना सांसद छन् । उनीहरुमध्ये ४५ जना सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन । उनीहरुले मुख्यमन्त्रीमा नेकपा नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन् । यसैबीच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले मुख्यमन्त्रीसमक्ष राजीनामा पनि दिएका छन् ।
सामूहिक राजीनामा पत्रमा प्रदेश सरकार कामकारबाही र दिशाविहीन हुनुमा मुख्यमन्त्री डोरमणि पौडेलको सुस्त कार्यशैली रहेको आरोप लगाइएको छ ।
बागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । नेकपाका सांसद मात्रै ८० जना छन् । तीमध्ये दाहाल–नेपाल पक्षीय सांसद ४६ जना रहेको र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट ३४ जना सांसद रहेको बताइएको छ । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् ।
अब नेकपाको कुन पक्षलाई नेपाली कांग्रेसले सहयोग गर्छ, उसैको सरकार बन्ने स्थिति देखिएको छ । मुख्यमन्त्री पौडेलले कांग्रेसका सांसदहरुको समर्थन लिन सके उनकै नेतृत्व सरकारले निरन्तरता पाउन सक्ने छ ।