पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुकलाई डुव्नबाट वचाएको नेकपाका युवा तथा विद्यार्थीहरुले बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा र विद्यार्थी संगठनले पोखरामा ओलीको कदमको समर्थन गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो । यो बिना प्रचण्ड–माधवले चुनाव जितेर देखाऊ ।’ जस्ता नारा लगाएका छन् ।
गलत मान्छेको हातमा देश सुम्पिँदा देशै डुब्ने भएकाले देश जोगाउन प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको बाटो रोज्नु भएको अनेरास्ववियु कास्की अध्यक्ष विवेक देवकोटाले बताएका छन् ।
त्यस्तै युवा संघका नेता माधव बास्तोलाले पुष्पकमल दाहाल र माधव नेपालबीचको गठबन्धनलाई आपराधिकको संज्ञा दिँदै दाहालले जेल जानुको विकल्प नभएको बताएका छन् ।
उनले देशैभरि केपी ओलीको नेतृत्वमा अर्को चुनावमा जाने बताएका छन् ।
प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेललगायतको सहभागिता थियो ।
त्यस्तै पुस १० गते युवा संघले युवा भेलासमेत आयोजना गरेको बास्तोलाले बताएका छन् ।