काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचन प्रधानमन्त्री केपी ओलीको बाध्यात्मक परिस्थिति भएको बताएका छन् ।
स्वयम् नेकपा र नेपाली कांग्रेसले सरकारलाई काम गर्न नदिनु संसद विघटनको प्रमुख कारण रहेको पुराना वामपन्थी नेता समेत रहेका अध्यक्ष विजुक्छेको तर्क छ । विगतमा भएका संसद विघटनका घटना जस्तै अहिलेको यो घटनालाई पनि त्यही रूपमा हेरिनुपर्ने उनी बताउँछन् ।
कानुन र संविधानले मिल्ने–नमिल्ने कुराको व्याख्या सर्वोच्चले गर्ने भन्दै नेता विजुक्छेले देशलाई लामो समय अन्योलको स्थितिमा राख्न नमिल्ने भएकोले प्रधानमन्त्रीको कदम औचित्यपूर्ण रहेको विश्लेषण गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई यो कदम चाल्न वाध्य पार्ने उनका विरोधीहरू भारतबाट सञ्चालित भएको नेता विजुक्छेको तर्क छ ।
सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरे थप जटिलता आउने उनको चेतावनी छ ।
अध्यक्ष बिजुक्छेले संवैधानिक परिषद्को कार्यविधि संशोधन सम्बन्धी अध्यादेश पनि फिर्ता लिन नहुने बताएका थिए ।
हिजो सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यादेश ल्याउने विशेष अधिकार संविधानले प्रधानमन्त्रीलाई प्रदान गरेको बताएका थिए ।
अध्यक्ष बिजुक्छेले कसैले कराएकै भरमा प्रमले आफ्नो अधिकार छोड्न नहुने भन्दै ठिक–बेठीकको टुङ्गो अदालतबाट हुने बताएका थिए ।
सम्वैधानिक परिषद सम्वन्धी अध्यादेशले सत्ताको भागबन्डामा बढी भाग खोज्नेहरूलाई ठाउँमा ल्याएको वताएका थिए ।
वर्तमान राजनीतिक अवस्था बिग्रनुमा नेपाली काङ्ग्रेस जिम्मेवार भएको भन्दै अध्यक्ष बिजुक्छेले प्रमुख प्रतिपक्ष बलियो भएको भए सत्तासीन दल डराउने बताएका छन् ।