काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङ जानु भएको छ । हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जानु भएका ओली त्यहाँबाट इलाम जाने बताइएको छ । प्रधानमन्त्री ओलीले घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्नुका साथै सीमा क्षेत्रको बोर्डर आउट पोष्ट (बीओपी) निरीक्षण गर्ने जनाइएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको बताइएको छ ।
ताप्लेजुङपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुने बताइएको छ । ओलीले इलामको जौबारीमा निर्मित अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ती कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने बताइएको छ ।
प्रधानमन्त्री ओलीसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई पनि भ्रमणमा सहभागि छन् ।
यस्तै शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि आजै झापा जाने बताइएको छ । झापामा मन्त्री श्रेष्ठले शहरी विकास मन्त्रालय अन्तर्गतका महत्वपूर्ण योजनाहरुका बारेमा जानकारी लिने बताइएको छ ।