किमाथाङ्का । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइए छन् । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले किमाथाङ्कामा हालै निर्माण बोर्डर आउट पोष्ट (बिओपी)को अवलोकन भ्रमण गर्नु भयो । प्रधानमन्त्री ओली हेलिकोप्टरबाट विहान १० बजे सो क्षेत्रमा पुग्नु भएको थियो । प्रधानमन्त्री ओलीले निर्माणधिन सङ्खुवासभाको उत्तर दक्षिण कोशी राजमार्गको निरीक्षण पनि गर्नुभयो ।
अरुण तेश्रोको ड्याम साईड र पावर हाउस क्षेत्र गरि दुई खण्डमा काम भईरहेको छ । ड्याम साईडमा जय प्रकाश एसोसियटस्ले काम गरिरहेको छ भने पावर हाउस क्षेत्रमा पटेल ईन्जिनियरिङले काम गरिरहेको छ । हालै पानी डाईभर्सन गर्ने सुरुङको काम सम्पन्न भईसकेको सतल जलविद्युत निगमका डिप्युटि जेनेरल मेनेजर रमेशचन्द्र सुलेरियाले जानकारी गराएका छन । ११ दशमलव ७ किलोमिटरको डाईभर्सन सुरुङ सकिएसँगै उक्त टनेल कङ्क्रिड बनाउने काम भईरहेको उनले जानकारी दिए । यसपछि बाँधको काम सुरु हुने समेत उनले बताएका छन् । अरुण तेश्रो सन २०२२ मा सम्पन्नहुने पिडिएमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका छन् ।