झापा । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जिल्लामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ ।
विर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड–१९ का संक्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्नेे भएको हो ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीले संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको कारण अस्पतालमा विरामीले बेड नपाउँदा स्वासप्रश्वासमा समस्या हुने भएपछि विरामीलाई घरमै सेवा दिन अक्सिजन बैंकको स्थापनाको तयारी गरेको बताएका छन् ।
उनले १५ दिनभित्रमा रु. १२ लाखको लगानीमा दुई सय अक्सिजनका सिलिन्डरको भण्डारण गरेर बैंक सुरु गर्ने बताए । उनले कोरोना संक्रमणका कारण घरमै उपचार गराइरहेका आर्थिकरुपमा सामान्य, असहाय र विपन्न परिवार निःशुल्क सिलिण्डर उपलब्ध गराउने भए पनि अन्यलाई भने सशुल्क सेवा दिइने बताए ।
संयोजक गरीले कोभिड सूचना तथा सहायता केन्द्रसमेतको स्थापना गरेर कोरोना संक्रमितलाई निःशुल्क परामर्श दिइने जानकारी दिए ।
अभियानले यसअघि झापाको कनकाइमा पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । रु. एक करोड दुई लाख ५६ हजार ८०४ को लागतमा अत्याधुनिक प्रयोगशाला स्थापना गरेको अभियानले प्लाज्मा बैंक स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोडलाई रु.११ लाख रुपैयाँ प्रदान गरेको थियो ।
पालिया खोलामा पक्की पुल
मेचीनगर नगरपालिका–७ मा रहेको पालिया नदीमा पक्की पुल बन्ने थालेपछि स्थानीय हर्षित बनेका छन् । प्रदेश नम्बर १ सरकारको रु. तीन करोड ८४ लाख १४ हजार ३८७ पुल बन्न सुरु भएको हो । सो पुल निर्माणको ठेक्का हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवाले लिएको छ । सेवासँग वि.सं. २०७८ असार २० गते निर्माण कार्य सपम्न्न हुने गरी गत बैशाख २४ गते सम्झौता भएको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।
उनका अनुसार ८२ फिट लम्बाई र २८ फिट चौडाई रहने पुलको दुबै तर्फ ४/४ फिट लम्बाईको पैदल यात्री हिड्ने संरचना निर्माण गरिने छ । पुल निर्माणको कार्य धमाधम भइरहेको हुँदा तोकिएको समयमा पुल निर्माण सम्पन्न हुने स्थानीय चन्द्रप्रसाद प्रसाईँले जानकारी दिए ।
पक्की पुल निर्माण भएपछि मेचीनगर—७ स्थित सत्तिघट्टा–गोमनसरी–इटाभट्टालाई जोड्नेछ । पुल सञ्चालनमा आए लगत्तै मेचीनगर र चन्द्रगढी विमास्थलको दुरी १४ किलो मिटरमात्र हुने उनले बताए । प्रदेश सभासदस्य श्रीप्रसाद मैनालीको पहलमा उक्त पुलको निर्माण कार्य शुरु भएको हो ।