पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट शनिबार पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको थियो । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो ।
भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रउ पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि शनिबार जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका सुन र चाँदी बरामद भएको बताएकी छिन्
सोक्रममा केही सुनसंँगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ ।
अपार्टमेन्टका सुरक्षागार्डका अनुसार उक्त फ्ल्याट भारत पूर्वी चम्पारण हरैयाका बासिन्दा अशोक सिन्हाको हो । उनी रक्सौल कस्टमका क्लियरिङको काम गर्छन् । सिन्हाका भाई प्रमोद कुमार सिन्हा बिहार विधानसभा निर्वाचनमा रक्सौल विधानसभा १० का भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार हुन् । विधानसभा निर्वाचन अन्तर्गत तेस्रो चरणमा नोभेम्बर ७ मा त्यस क्षेत्रमा निर्वाचन हुने जनाइएको छ ।