सर्लाही । सदरमुकाम मलङ्गवामा आज अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका कांग्रेस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको परिवारको जाहेरी लिनुपर्ने लगायत माग राख्दै भएको प्रदर्शनमा झडप भएको हो ।
कांग्रेस नेता एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सांसद डा. अमरेश कुमार सिंहको नेतृत्वमा भएको प्रदर्शन जिल्ला प्रहरी कार्यालयमा पुगेपछि प्रदर्शकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा सर्लाही प्रहरीका प्रवक्ता समेत रहेका डीएसपी मदन कुँवर, ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धवसिंह भाट, ईलाका प्रहरी कार्यालय हरिपुरका इन्सपेक्टर बिक्रम साह लगायत २० जना प्रहरी घाईते भएका सर्लाहीका एसपी सन्तोष सिंह राठौरले जानकारी दिएका छन् ।
यस्तै सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित १० जना सशस्त्र प्रहरी पनि झडपमा परी घाईते भएका छन् । त्यस्तै कांग्रेसका कार्यकर्ता पनि घाईते भएका र उनीहरुमध्ये १७ जनालाई उपचार नै गर्नुपर्ने गरी चोट लागेको बताइएको छ । घाईते सुरक्षाकर्मी र प्रदर्शनकारीको जिल्ला अस्पताल लगायत मलङ्गवाका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीले भीडलाई नियन्त्रणमा लिन ३० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्दा जिल्ला प्रहरी प्रमुख राठौरको निवासका झ्यालको सिसा र प्रहरीको एउटा गाडीको सिसा फुटेको बताइएको छ ।
प्रहरी उपरीक्षक राठौरले शान्तिपूर्ण प्रदर्शन गर्ने पूर्व सहमति भएपनि जिल्ला प्रहरी कार्यालयमा आएको मासले अचानक ढुङ्गामुढा गरेको बताएका छन् ।
मृतक महेन्द्र रामको परिवारले दोषीहरु किटान गरी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन अस्वीकार गरिरहेको सांसद सिंहको आरोप छ । उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएका महेन्द्रको शव एक सातादेखि वीरगञ्जमै रहेको छ ।
प्रहरीले भने घटनामा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ । घटनामा संलग्न नै नरहेका व्यक्तिहरु विरुद्ध जाहेरी लिएर आएकाले स्वीकार नगरिएको प्रहरी उपरीक्षक राठौरले बताएका छन् ।