काठमाडौं । के तपाई नम्बर प्लेट स्पष्ट नभएको सवारी साधन चलाउदै हुनुहुन्छ ? होसियार ! ट्राफिक प्रहरीको कारवाहीमा परिएला ।
महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको,नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाईका साथ कारवाही गर्न थालेको छ ।
मंगलबार मात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका १६३ वटा सवारी साधनलाई कारवाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।
ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने,अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न नै यस अभियानको थालनी गरिएकोमहाशाखाका प्रमुख ढकालले बताएका छन् ।
यस अभियानलाई गत आइतबारदेखी कडाइका साथ कार्यान्वयन गरि हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरि नम्बर प्लेट समेत स्पष्ट लेख्न लगाएका छौ । यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताए ।
उनले यस कारवाहि अभियानले सवारी धनीहरुलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एव मर्मत सम्भार गर्नेबानीको बिकास समेत गर्ने अपेक्षा लिएको बताए ।
सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिनेगरि र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पुर्ण सवारी धनीहरुलाई महाशाखाले अनुरोध समेत गरेको छ ।




















