काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद सानु सिवा पहाडीको निधन भएको छ । मुटुमा समस्या आएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत् उनको आज निधन भएको हो ।
२०७४ सालमा इलामबाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित उनी जनवादी गायिकासमेत थिइ । सांसद सिवा लामो समयदेखी मृगौला, मुटुको समस्याबाट पिडित रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
एक वर्षअघि मृगौला प्रत्यारोपण गराएकी सांसद पहाडीको मुटुमा समस्या हुँदा केही समयअघि गंगालाल हृदयकेन्द्रमा पनि भर्ना गरेर उपचार गरिएको थियो । उनी प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको सदस्य पनि थिइन् ।
उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । “हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ”, सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन् , “उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”