लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्क्रमित नेपाली मध्य ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार नौ सय १६ जना कोरोनामुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार पाँच सय २८ नेपाली कोरोना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका एक जना नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना सङ्क्रमणका कारण विदेशमा १८ देशका दुई सय ६६ जना नेपालीको ज्यान गएको छ ।
समितिका संयोजक डा.संजीव सापकोटाका यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
यस्तै नेपालमा मात्र ८४ हजार पाँच सय ७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन भने ती मध्ये ६२ हजार सात सय ४० जना कोरोनामुक्त भएका छन । यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा पाँच सय २८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये ९८ हजार छ सय ५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्वजनिक स्थलमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ । समितिका संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको हुँदा सबैलाई माक्स प्रयोग गर्न र हात धुन आग्रह गर्नुभएको छ । उहाँले कोरोना संक्रमणको आशंका लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।