काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाभाइरसका संक्रमित ८०९ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ मा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुष तथा भक्तपुरमा २१ महिला र ५१ पुरुष सङ्क्रमित थपिएका हुन् ।
त्यसैगरी, उपत्यकासहितका तीन जिल्ला सम्मिलित वागमती प्रदेशमा ९०२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । चौबीस घण्टामा एक हजार ५७३ जना थपिएकोमा ९०२ सङ्क्रमित वागमती प्रदेशकै छन् । चितवनमा ८३ जना सङ्क्रमितको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरमा गरेर १५७३ जना सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमित समेत गरेर कुल सङ्क्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै निको भएकाहरुको संख्या ५३ हजार ८९८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ भने २२५ जना आइसीयूमा रहेर उपचार गराइरहेका छन् ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको संख्या १९ हजार १९ पुगेको छ भने क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।
कहाँ कति थपिए संक्रमित ?