बुटवल । कोरोना विशेष अस्पताल बुटवल रुपन्देहीमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु र पश्चिम नवलपरासीका भेन्टिलेटरमा राखी उपचार गर्दै गरिएका दुई पुरुषको आज विहान मृत्यु भएको बताइएको छ ।
असोज १ गते अस्पताल ल्याइएका कपिलवस्तुको बुद्धभूमि–६ का ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताएका छन् । डा. थापाका अनुसार मधुमेह समेत रहेका उनलाई असोज २ गतेदेखि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
यस्तै भदौ २७ गते अस्पताल ल्याइएका पश्चिम नवलपरासीको रामग्राम–३ का ४९ वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको डा. थापाले बताएका छन् । कलेजोका विरामी रहेका उनको असोज २ बाट भेन्टिलेटरमा राखि उपचार गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको सो अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।