काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज गृह मन्त्रालयसँगको परामर्शपछि खुकुलो बनाउने निर्णय गरेका हुन्।
उपत्यकाको आन्तरिक सवारी जोरबिजोर प्रणालीबाट व्यवस्थित गर्ने र खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल दिनभर खोल्न पाइने र अन्य व्यापार व्यवसाय पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खोल्न पाइने भएको छ।
उपत्यका बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनका हकमा यसअघिकै निर्णय लागू हुने बताइएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताएका छन् । उनले अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने र सामाजिक दूरी कायम गर्ने/गराउने विषय सबैले दायित्व वहन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएपनि संक्रमितहरु दिनप्रतिदिन बढिरहेका छन् । आज मात्र उपत्यकामा पछिल्लो २४ घन्टामा ४६४ जना कोरोना संक्रिमत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर उपत्यकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ९ हजार ४ सय ४१ पुगेको छ।




















