चितवन । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए ।
योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जना रहेका छन् ।
करेन्ट लागेर दुईको मृत्यु
भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार रातिको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।
पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भएपछि छोडेको बिद्युतीय तारबारमा उनीहरुलाई करेन्ट लागेको थापाले जानकारी दिएका छन् । मृतकहरुको साथमा जालसमेत रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।