काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुमध्ये काठमाडौंका १ सय ३८, ललितपुरका ५० र भक्तपुरका १७ जना हुन ।
हाल देशभर होम आइसोलेसनमा २ हजार ८ सय ८७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज देशभरमा हालसम्मकै धेरै अर्थात एकै दिन १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज भएका समेत गरेर नेपालमा १७ हजार ५ सय ८० उपचारपछि निको भएका छन्।