काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एक हजारभन्दा बढी एकदिनमा कोरोना संक्रमणको पुष्टि भएको यो पहिलो पटक हो।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज भएका समेत गरेर नेपालमा १७ हजार ५ सय ८० उपचारपछि निको भएका छन्।
त्यस्तै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको हो ।
मृत्यु हुनेहरुमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।




















