चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा १८ घर पुरिएका र ३६ जना सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा परी गम्भीर घाइते पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी सदरमुकामस्थित चौतारा अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।
घटनाको जानकारी पाएलगत्तै जलबिरेस्थित इलाका प्रहरी कार्यालयबाट टोली त्यसतर्फ गएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । घाइतेको उद्धारका लागि मनाङ एयरको हेलिकप्टर पनि घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । करिब एक किलोमिटरमाथिबाट झरेको पहिराले अन्य २५ घर उच्च जोखिममा रहेको र पहिरो झर्नेक्रम नरोकिएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।
घाइतेको उद्धारका लागि नेपाली सेनाको टोली पनि त्यसतर्फ जाँदै गरेको बताइएको छ । २०७२ सालको भूकम्पले थिलथिलो पारेको ठाडो भिरालो जमिनमा शिवश्री हाइड्रो पावरले विद्युतगृहको सुरुङ निर्माण गर्ने क्रममा विस्फोटक पदार्थले जमिन थर्किएकाले पहिरो स्थानीयवासीले आरोप लगाएका छन् ।
सभामुख घटनास्थलमा
पहिरामा परेकाको उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ ।
उद्धारका लागि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली हेलिकप्टर लिएर जुगलको लिदी पुगेको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।