काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा कमजोरी गरेको भन्दै मुद्दा लगाइएका एस्पी र डिएस्पीसहित आठ प्रहरीले सफाई पाएका छन् ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले आज ‘निर्मला हत्या प्रकरण’ अनुसन्धानमा संलग्न तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का डीएसपी अंगुर जिसीसहित ८ जनालाई सफाइ दिएको हो ।
घटना अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको, पक्राउ परेकालाई यातना दिएकोलगायतका आरोपसहित एसपी विष्ट र डिएस्पी जिसीसहित डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्त र खड्कसिंह विष्टले मुद्दा हाल्नुभएको थियो ।
अदालतले सवै प्रहरीलाई निर्दोष ठहर गरी सफाइ दिएको हो । सो प्रकरणमा एसपी बिष्टलाई बर्खास्त गरिएको थियो भने अन्य निलम्बित थिए । निर्मलाको दुई वर्षअघि साउन १० गते बलात्कारपछि हत्या भएको थियो । सो घटनाका दोषी अझै पत्ता लाग्न सकेको छैन । सो घटनाका दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको मात्र होइन सरकारको समेत चर्को आलोचना हुँदै आएको छ ।