काठमाडौं । नेत्रविक्रम चन्द समूह, सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई धनगढी उपमहानगरपालिका–७ बेली गाउँबाट प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । उनीसँगै अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली व्युरो इन्चार्ज गौरा धामीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताएका छन् ।
त्यस्तै विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई प्रहरीले मंगलबार मोरङको उर्लाबारीबाट पक्राउ गरेको छ । एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली, डेटोनेटर र सकेट बम, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुई वटा सीमकार्डलगायत सामाग्रीसहित पक्राउ परेका उनलाई प्रहरीले विभिन्न स्थानमा विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु गरेको बताइउको छ ।
पक्राउ परेका बोहराले १० स्थानमा आपराधिक गतिविधि गरेको दाबी प्रहरीको छ । बोहरा माथि मोरङको पथरी शनिश्चरे, सुन्दरहैचा नगरपालिकामा बम राखेको आरोप छ । मोरङ पथरी शनिश्चरे नगरपालिका–१ स्थित पूर्व पश्चिम लोकमार्गको १२ चैत २०७४ मा भेटिएको सकेट बम भेटिएको थियो । १३ जेठ २०७६ मा सुन्दरहरैचा नगरपालिका वडा नं ७ ठडिया स्थित पूर्व पश्चीम राजमार्गमा कुकर बम भेटिएको थियो ।
प्रहरीले मोरङको मिक्लाजुङ, केराबारी, इटहरी, धरान, विर्तामोडका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप लगाएको छ । गत १० माघमा मोरङ मिक्लाजुङ गाउँपालिका १ साकेलाथानमा ३ वटा स्काभेटरमा बम बिस्फोट र आगजनी भएको थियो ।
१० माघमा मोरङ केरावारी गाउँपालिका १० स्थित गाउँपालिकाको कार्यालयमा र १२ माघमा केराबारी–२ स्थित एनसेल टावरमा बम बम विष्फोट भएको थियो ।
२३ भदौंमा झापा बिर्तामोड २ चारपानेमा रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्माणधिन भवनमा पनि विष्फोट भएको थियो ।
२० भदौमा सुनसरी इटहरी ९ मा रहको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा र सोही दिन धरान– १९ स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कूलको गेटमा बम बिष्फोट भएको थियो । संखुवासभा र भोजपुरमा हातहतियार सम्बन्धी विभिन्न घटनामा समेत उनको संलग्नता भएको प्रहरीको आरोप छ ।



















