काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध केही भारतीय सञ्चारमाध्यमले अनर्गत, कपोकल्पित, भ्रामक र आपत्तिजनक समाचार प्रशारण गरिरहेका छन् । नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गरेर संसदबाट अनुमोदन गराएपछि भारतीय मिडियाहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचारमा लागेका छन् ।
नेपालको आन्तरिक मामिलामा भारतको संस्थापन पक्षले हस्तक्षेप गर्दै आएको छ भने भारतीय मिडियाहरुले नेपाल र नेपालीको मानमर्दन गर्दै अनर्गल प्रचार गर्दै आएका छन् । सार्वभौम मुलुकको प्रधानमन्त्री र छिमेकी देशको राजदूतलाई जोडेर अनर्गल प्रचार गर्नुले भारतीय मिडियाको बौद्धिकता शून्य भएको देखिन्छ भने भारतीय सरकार रमिते बन्नुलाई कूटनीतिज्ञहरुले गम्भीर रुपमा हेरेका छन् ।
यस्ता नेपालविरोधी हर्कत प्रमविरुद्धको लड़ाइँ मात्र नभई सिङ्गो नेपालको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डतामाथिको नाङ्गो आक्रमण भएकाले यस्तो क्रियाकलापलाई किमार्थ स्वीकार्न नसकिने कूटनीतिज्ञहरुले बताएका छन् ।
गलत प्रचारविरुद्ध राजनीतिक र कानुनी उपचार खोजिने
सरकारले नेपालको विषयमा अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यममाथि राजनीतिक र कानुनी उपचार खोज्ने जनाएको छ । पछिल्ला दिनमा नेपालको सार्वभौमसत्ता र अखण्डताको विषयमा अनर्गल प्रचार गर्दै आएका भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओली विरुद्धसमेत पत्रकारिताको सामान्य सिद्धान्तसमेत बिर्सेर गलत प्रचार गरेपछि नेपालमा यस्तो हर्कतको सर्वत्र विरोध भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहनु भएका मन्त्री डा. युवराज खतिवडाले सञ्चारमाध्यमले स्वच्छ, स्वस्थ र पारदर्शी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “सञ्चारमाध्यम चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ ।” उहाँले दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकारले भत्सर्ना गर्ने बताउनुभयो ।
सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको स्पष्ट पार्दै मन्त्री डा खतिवडाले भारतीय सञ्चारमाध्यमको गलत प्रचारको विरुद्धमा कूटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
विशेषगरी भारतीय टेलिभिजनमा प्रसारित समाचार सामग्रीबारे उहाँले स्पष्ट शब्दमा भन्नुभयो “हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीको स्वाभिमानमा आँच पु¥याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गर्छौँ । यसका पछाडि कानुनी उपचार खोज्नुपर्ने कुराहरू पनि हुन्छन् । राजनीतिक र कानुनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।”
हद भयो, बकवास बन्द गर : नेकपा प्रवक्ता
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतीय सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उहाँले भन्नुभएको छ “हद भयो, बकवास बन्द गर ।”
प्रवक्ता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरू एकढिक्का भएको बताउनुभएको छ । प्रवक्ता श्रेष्ठले भन्नुभएको छ “विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन दिने छैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।”
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि केही भारतीय मिडियाले पत्रकारिताबाहेक अरू थोकमात्र गरिरहेको बताउनुभएको छ । उहाँले यस्ता आधारहीन सम्प्रेषणले नेपालमा कुनै अर्थ नराख्ने भन्दै जिम्मेवार पत्रकारिताका लागि यस्तो समाचार लज्जाको विषय हुने उल्लेख गर्नुभयो ।
पछिल्ला दिनमा भारतीय टेलिभिजनले नेपालको आन्तरिक मामिलालाई लिएर गलत प्रचारप्रसार गरिरहेका छन् । नेपाल पत्रकार महासङ्घ, प्रेस संगठन नेपाललगायतका संघसंस्थाले पनि विज्ञप्ति मार्फत भारतीय सञ्चारमाध्यमहरुको प्रचार असत्य, भ्रामक र कपोलकल्पित भएको जनाएका छन् ।
पत्रकार महासंघद्वारा भत्र्सना
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले त्यसको भत्र्सना गरेको छ ।
“भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ, महासङ्घ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ”, महासङ्घद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारका सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।
कूटनीतिक कदम चाल्न प्रेस सङ्गठनको ध्यानाकर्षण
त्यस्तै नेकपा निकट पत्रकारहरुको संगठन प्रेस सङ्गठन, नेपालले एक विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यमले प्रशारण गरिरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ “तथ्यहिन र मर्यादाहिन सामग्री जिम्मेवार पत्रकारिता मात्रै होइन, सभ्य समाजको निम्ति पनि लज्जाको विषय हो । हामी भारतीय सञ्चारमाध्यमको यसप्रकारको मर्यादाहिन र अनर्गल प्रचारप्रति खेद व्यक्त गर्दै भत्र्सना गर्दछौँ ।”
सङ्गठनले दुई देशबीचको कुटनीतिक सम्बन्धमा मात्रै होइन, दुई देशका जनताबीचको सम्बन्धमा समेत दरार पैदा गर्ने त्यस्ता सामाचारको खण्डन गर्दै प्रसारण रोक्नका निम्ति कूटनीतिक कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
सरकारी वाहेक सवै भारतीय च्यानल बन्द
नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओहरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमणपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज गरी त्यस्ता च्यानल बन्द गर्न वितरकहरूलाई आग्रह गर्दै आएका थिए ।
डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतले सामूहिक रुपमा आजतक, जीन्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार, सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल बिहीबार साँझदेखि नेपालमा नदेखिने व्यवस्था गरिएको हो ।
प्रबन्ध निर्देशक आचार्यले भारतीय च्यानलमा नेपालविरोधी ‘कन्टेन्ट’ प्रसारण बढेपछि वितरकबीचको सल्लाहले साङ्केतिक रुपमा भारतीय च्यानल बन्द गरिएको बताउनुभयो । उहाँले युट्युबलगायत इन्टरनेटका माध्यमबाट आउने नेपालविरोधी सामग्री रोक्न सरकारले विशेष पहल थाल्नुपर्ने समेत बताउनु भएको छ ।




















