मेलम्ची । सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौँ लगिने जानकारी उहाँले दिनुभयो । सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।
गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिनुभयो । घटनामा १८ जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरी सूचना अधिकारी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लाने प्रयास भइरहेको छ ।
त्यसै गरी भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चार जना बेपत्ता भएका छन भने दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । बाढीले त्यहाँस्थित सानो पुलेसा (कल्भर्ट) समेत बगाएको छ ।
यो पनि….