लिम्पियाधुरासम्मको भारतले मिचेको भूभाग अब औपचारिक रुपमा नेपालको भएको छ । नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै सो जमिन औपचारिक रुपमा नेपालको भएको हो ।
विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए। राष्ट्रपति कार्यालय पुगेको केही घण्टा पनि बित्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेकी हुन् । भण्डारीले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्साबाट हराएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ।
नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेश गरेको थियो। त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।
विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो। जेठ २७ गते प्रतिनिधिसभामा छलफल भइ संशोधनका लागि ७२ घण्टा समय दिइ ३१ गते अर्थात् आइतबार पारित सर्वसहमतिले भएको हो।