बारा, निजगढ । वर्षायाम आउन लाग्दा त्राहिमाम बनेका निजगढ नगरपालिका–४ कछडिया टोलका बासिन्दाहरूमा जोखिम न्यूनीकरणको आस पलाएको छ ।
सो क्षेत्रका करीब १२ सय घरधुरी बाढीको जोखिमबाट जोगिने आशा पलाएको स्थानीय परदेशी कुमरले बताए । खोला किनारको भत्किएको ड्याम पनि मरम्मत सम्भार गर्नुपर्ने उनको सुझाव छ ।
कछडिया टोललाई जोखिममा पारेको निजगढस्थित बकैया खोलामा दुई सातायतादेखि नदीको धार मोड्न च्यानलाइज्ड भइरहेको छ । बाढीको पानी च्यानलाइज्डको धार समाउँदै बगेपछि काम सफल हुने र जोखिम न्यूनीकरण हुने विश्वास पलाएको हो ।
बकैया खोलाको नदीजन्य वस्तु ग्रेभल उत्खनन गर्न ठेक्का सकार गरेको सुदीपा टे«डिङ कम्पनी प्रालि र नेपाल क्रसर उद्योगलाई खोला च्यानलाइज्ड गर्न निजगढ नगरपालिकाले आग्रह गरेसँगै उनीहरूले सो कामलाई तीव्रता दिएका हुन् ।
खोलाको सतह होच्याएर गरिने च्यानलाइज्डबाट उत्खनन भएका नदीजन्य पदार्थ ढुङ्गा, ग्रेभल पनि ठेक्कामा तोकिएको परिमाण अनुसार मात्रै ठेकेदारले पाउने र बाँकी मौज्दातलाई निजगढ नगरपालिकाले बिक्री गरी राजस्व दाखिला गर्ने सहमति भएको थियो। च्यानलाइज्ड गर्न थप खर्च नलाग्ने र उत्खनन गरिएका नदीजन्य पदार्थ पनि खेर नजाने हुनाले एउटा कामबाट दोहोरो फाइदा भइरहेको नगर क्षेत्रका बासिन्दाहरूले बताएका छन् ।
सुदीपा टे«डिङ कम्पनी प्रालिले १० करोड ७७ लाख ३७ हजार रुपैयाँमा नदीजन्य पदार्थको ठेक्का सकार गरेको छ । ठेकेदारलाई आवश्यक वार्षिक १ करोड २२ लाख ४३ हजार ७८३ क्यूफिट नदीजन्य पदार्थ पूरा गर्न च्यानलाइज्डबाट उत्खनन गर्दा सङ्कलित नदीजन्य पदार्थले महत्वपूर्ण योगदान दिन सक्ने जनाइएको छ । सो परिमाणमा दुई सातायतादेखि ७ वटा एस्काभेटर, २० वटा टिपर, ट्याक्टर प्रयोग गर्दै च्यानलाइज्ड कार्य धमाधम भइरहेको छ ।
च्यानलाइज्ड कार्यमा अनियमितता एवं काम अपरिपक्व नहोस् भन्नका लागि उपप्रमुख लीलादेवी लामिछानेलगायत जनप्रतिनिधिहरूले निरीक्षण तथा अनुगमन गर्ने गरेका छन् ।
“स्वीकृत आइइई रिपोर्ट अनुसार च्यानलाइज्ड कार्य भइरहेको र पहिलो प्राथमिकता बस्तीलाई सुरक्षित गर्ने रहेको नगरप्रमुख खनालले बताए ।
च्यानलाइज्डसँगै पूर्वतर्फ ग्रेभल र ढुङ्गाको ड्याम खडा गरिएको छ । खोलाभित्र र दायाँबायाँ रहेका ठूला ढुङ्गालाई पानीको बहाव रोक्न प्रयोग गरिएको छ । यसरी साबिकको धार परिर्वतन गरेसँगै खोला किनारामा रहेको पुरानो भत्किएको ड्यामलाई मर्मत तथा नयाँ निर्माण गर्न थालिएको छ । चुरे संरक्षण कार्यक्रम अन्तर्गत ६० लाख रकमको ड्याम बनाइनेछ, जसमा तारजालीमा ढुङ्गा भरेर ड्याम बनाउने कार्यसमेत रहेको र सो कार्य शुरू भइरहेको नगरप्रमुख खनालले बताए ।
च्यानलाइज्ड कार्यबाट बस्तीसँगै कछडिया सामुदायिक वन उपभोक्ता समूह, बकैया–नागमणि सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रसमेत सुरक्षित राख्ने नगरको योजना छ ।