मान्म । कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ ।
मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो । दुर्घटनामा परी ६ जना बेपत्ता छन् । बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की रहेका छन् । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ ।
दुर्घटनामा नौजना घाइते भएका छन् । घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की, निस्पता सार्की रहनुभएको छ । उहाँहरुको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको प्रहरीले जनाएको छ । बाइसजनाको भने सकुशल उद्धार गरिएको छ ।
कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको थियो । टिपरमा ३९ यात्रु सवार रहेको थियो ।
मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित टिपर दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति शोक व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक शोक वक्तव्य जारी गर्दै ‘कोभिड–१९’ ले निम्त्याएको समस्याका कारण विभिन्न ठाउँबाट घर फर्किने क्रममा आज बिहान लालीघाटको दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले दुर्घटनामा निधन हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
दुर्घटनाको खबर पाउनेबित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खट्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई समेत उहाँले धन्यवाद दिनुभएको छ ।
हेलिकप्टर लिएर मुख्यमन्त्री घटनास्थलतर्फ
अकल्पनीय र पीडादायी दुर्घटनामा घाइतेहरुको शीघ्र उद्धार तथा उपचारका लागि हेलिकप्टर लिएर मुख्यमन्त्री शाही २:४० बजे घटनास्थलतर्फ लाग्नुभएको छ ।
घाइतेको तत्काल उद्धार तथा उपचारका लागि मुख्यमन्त्री शाही, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त हेलिकप्टर लिएर कालीकोट जानुभएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर बुधबार बिहान कर्णाली नदीमा खसेर दुर्घटना भएको थियो । टिपरमा ३९ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।