बागलुङ । स्थानीय तहमै कोभिड–१९को दु्रत जाँच (¥यापिड टेष्ट) भइरहेको छ । अगामी सोमबारसम्ममा जिल्लाका दशवटै स्थानीय तहका शङ्कास्पद ९७१ जनामा कोरोनाको दु्रत जाँच गरिनेछ ।
सङ्क्रमितसँग सम्पर्क भएका र विदेशबाट आएका सबैमा कोरोना जाँच गरिने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । दु्रत जाँचका लागि जिल्लाभर स्वास्थ्य प्राविधिक खटिएका छन् ।
शुक्रबार ९४ जनामा जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जनाइए पनि त्यसको विस्तृत जानकारी स्वास्थ्य मन्त्रालयले गराउनेछ । तीमध्ये बागलुङ नगरपालिकाका २८ जना, बडिगाड गाउँपालिकाका ५९ र तमानखोला गाउँपालिकाका सातजनामा कोरोना जाँच गरिएको थियो ।
कार्यालय प्रमुख सुरज गुरौका अनुसार बागलुङ नगरपालिकामा कुल १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोरोना जाँच गरिनेछ ।
“¥यापिड टेष्टका लागि जिल्लाभर स्वास्थ्यकर्मीको चार टोली परिचालित छ”, उहाँले भन्नुभयो, “स्थानीय तहसँगको समन्वयमा जाँचको काम भइरहेको छ ।” स्थानीय तहले निर्माण गरेका ‘क्वारेनटाइन’ स्थलमा बोलाएर शङ्कास्पद व्यक्तिमा कोरोना जाँच्ने गरिएको छ ।
ढोरपाटन, बडिगाड, तमानखोला र निसीखोलामा शुक्रबारदेखि शुरु भएको दु्रत जाँच शनिबार सकिँदैछ । बागलुङ, काठेखोला, गलकोट, जैमिनी र ताराखोलामा आइतबारसम्ममा शङ्कास्पद सबैको जाँच गरिनेछ । बरेङमा आइतबार र सोमबार जाँच हुने भएको छ ।
किटको प्रयोग गरेर गरिने ¥यापिड टेष्टको रिपोर्ट १५ मिनेटमै आउने गरेको छ । पोजेटिभ रिपोर्ट आएमा पुनः स्वाबसमेत सङ्कलन गरेर थप पुष्टिका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइनेछ ।
यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहीबार बागलुङका स्वास्थ्य प्राविधिकलाई ¥यापिड टेष्टसम्बन्धी प्रयोगात्मक अभिमुखीकरण प्रदान गरेको थियो ।
सरकारले दुईजना सङ्क्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी ¥यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसबाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती र वडा नं. ३ की ६५ वर्षीया महिला अहिले धवलागिरि अञ्चल अस्पतालमा उपचाररत हुनुहुन्छ ।
दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । युवतीमा यही चैत १५ गते र महिलामा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको विमानबाट चैत ४ गते नेपाल आएका थिए ।
यसैबीच, ६५ वर्षीया महिलामा गरिएको कोरोनाको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि १९ वर्षीया युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको थियो ।
लगातार दुई पटक कोरानाको नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामीलाई अस्पतालबाट घर पठाइने चिकित्सकले बताएका छन् ।
(रासस)