भक्तपुर– जहाँ संकट त्यहाँ मानवीय आस्था भन्ने मूल उद्देश्यका साथ २०७२ सालको भूकम्पमा पीडितलाई सहयोग गर्न स्थापित मानवीय आस्था नेपालले वर्तमान संकटमा सडक मानवलाई दैनिक खाना खुवाउन शुरु गरेको छ । कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण भोकै परेका भक्तपुरका सडक मानवलाई मानवकल्याण समाजसंँगको सहकार्यमा दैनिक खाना खुवाउन शुरु गरिएको हो ।
भूकम्पका समय भक्तपुरमा भएको विनाश र हनुमानघाटमा लहरै रहेका कयौँ शव देखेर युवा नेता महेश बस्नेतले तत्काल भूकम्प पीडितको खोज, उद्धार र राहत वितरणका लागि स्थापना गरेको सो संस्थाले गत बिहीबारदेखि दैनिक एक छाक सडक मानवलाई खाना खुवाउँदै आएको छ ।
भक्तपुरका सडक, पाटी, मन्दिरलगायत क्षेत्रमा बसिरहेका ६० जनाको पहिचान गरी उनीहरु बसेकै ठाउँमा पुगेर खाना वितरण गर्न थालिएको हो । नेकपाका केन्द्रीय सदस्य बस्नेतले लकडाउनको कारण भक्तपुर जिल्लाका सडकपेटी र सार्वजनिक मन्दिर पाटीपौवामा बस्दै आएका सडक मानवलाई भोकै सुत्नु पर्ने अवस्था आएको जानकारी पाएलगत्तै उनीहरुको खोजी गरी खाना खुवाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
सानोठिमी, नयाँठिमी, कौशलटारलगायत विभिन्न ठाउँमा रहेका सडक मानवलाई लकडाउनपछि उद्धार गरेर व्यवस्थित गरिने योजना रहेको उहाँले बताउनुभयो ।
भुस्याहा कुकुरलाई खाना खुवाइँदै मध्यपुरथिमि नगरपालिका ३ का नरेश रंजितको नेतृत्वको युवाको समूहले सडकमा रहेका भुस्याहा कुकुरलाई दैनिक खानेकुरा खुवाउने अभियान शुरु गरेको छ । लकडाउनका बेलामा भोकै भएका कुकुरले कुनै पनि बेलामा दुर्घटना निम्त्याउन सक्ने भएकाले कुकुरलाई खाना खुवाउने अभियान शुरु गरिएको रंजितले बताउनुभयो ।


















