पोखरा । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि सनराइज बैंक लिमिटेड प्रादेशिक कार्यालयले ५० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरेको छ । सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालयका प्रमुख रवीन्द्र केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
केसीले गण्डकी प्रदेशमा दिनप्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवामा खटिने सबैको सुरक्षाका लागि बैंकको प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको बताउनुभयो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सनराइज बैंकबाट प्राप्त भएको यी सामग्री नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई पाँच÷पाँच थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरिने बताउनुभयो । उहाँले अहिलेको यो जटिल अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व बहन गर्दा कोरोनाविरुद्ध लड्न सकिने बताउनुभयो ।
उहाँले सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्तिको व्यवस्थापन गरी सुरक्षित भरपर्दो र विश्वसनीय प्रबन्ध मिलाएको समेत जानकारी दिनुभयो ।
यो महामारीबाट आफ्नो सुरक्षाका साथसाथै मानवजातिकै सुरक्षाका लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पूर्णरूपले पालना गर्न समेत मुख्यमन्त्री गुरुङले सबैलाई आग्रह गर्नुभयो ।
बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पैड्यालले यो समयमा स्वास्थ्यकर्मीका लागि पिपीइको सबैभन्दा ठूलो आवश्यकता रहेकाले दुई हप्तासम्म पिपीइको खोजी गरेर सहयोग गरेको बताउनुभयो ।