काठमाडौं । काठमाडौंमा कोरोना संक्रमित एक जना नयाँ विरामी फेला परेका छन् । आज स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन ।
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते काठमाडौं आएकी उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपाल आउँदा उनीमा कोरोनाको कुनै लक्षण नदेखिएपछि एकान्तवासमा राखिएको थियो । हिजो परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । १९ वर्षका उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । एक अर्ब ४० करोड जनता भएको चीनबाट कोरोना भाइरस फैलिएपछि त्यसले एसियालाई भन्दा युरोपलाई बढी आतंकित बनाएको देखिन्छ ।
अहिलेसम्म विश्वभर १४ हजार ७ सय ४ जनाको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३९ हजार सात ६५ जना संक्रमित भएको पुष्टि भएको छ । ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् ।
चीनमा तीन हजार २ सय ५५ व्यक्ति कोरोनाका शिकार भए भने इटलीमा चार हजार ४२ जना दुई महिनाभित्र कोरोना भाइरसको कारणले मरेको तथ्यांकले देखाएको छ ।
चैत ७ गते इटलीमा एकै दिन ६ सय २६ जना कोरोनाबाट मरे । संख्यात्मक हिसावले भारतमा पनि अहिलेसम्म कोरोनाबाट मर्नेको संख्या १० नाघिसकेको छैन । तर नेपालमा महामारीको रोकथाम राजनीतिक र प्रशासनिक तहबाट मात्रै हुन्छ भन्ने विश्वासबाट जनता विचलित हुँदै गएका छन् ।
सामाजिक संघसंस्थाहरुले समेत यथेष्ट सहयोग नपुर्याएको सरकारी अधिकारीहरुले गुनासो गरेका छन् । धर्म परिवर्तनदेखि अनेक उपकारको वहानामा गाउँगाउँसम्म फैलिएका हजारौ गैरसरकारी संस्थाहरुले इमानदारीसाथ परोपकारमा ध्यान दिने हो भने त्यसले पनि महामारी रोक्न केही मद्दत पुग्ने देखिन्छ । तर सरकारले त्यस्ता संस्थाहरुलाई सक्रिय गराउन केही प्रावधान राखेर तत्काल सुचित गर्नुपर्ने हुन्छ ।
खुला सिमानाका कारण नेपालमा महामारी फैलिने आशंका बढेपछि सरकारले आजबाट एक साताका लागि चीन र भारत दुवै तर्फका सबै नाका बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडान पनि बन्द गरिएको छ ।
आगामी दिनहरु भयावह हुन नदिन अहिलेदेखि नै धेरै मानिस भेला हुने ठाउँमा नियन्त्रण गर्नुपर्ने र गाउँगाउँमा फैलिएका राजनीतिक दलहरुले पनि आफ्ना कार्यकर्ताहरुलाई स्वास्थ्य चेतना फैल्याउने काम गर्नुपर्ने देखिन्छ ।



















