पोखरा । तनहुँको भिमाद नगरपालिका–८ भावरका ८३ वर्षीय विष्णुबहादुर आले धेरै सम्भावना भएर पनि पुलकै अभावमा यहाँको क्याङ्दी फाँट ओझेलमा परेको दुःखेसो गर्नुहुन्छ । लामो समयसम्म पुल नबनेकैले क्याङ्दी फाँटमा पर्ने फराकिला उब्जाउयोग्य भावर, वैद्यपानी, अरौंदीलगायतका स्थान विकासमा पछि परेको उहाँले बताउनुभयो । चार वर्षयता क्याङ्दी फाँटलाई जोड्ने गरी निर्माणाधीन शुक्लागण्डकी नगरपालिका–७ र भिमाद नगरपालिका–८ भावर जोड्ने पक्की पुल निर्माण सम्पन्न भएपछि भने यो ठाउँले राम्रैसँग कोल्टे फेर्ने उहाँले बताउनुभयो ।
आले जस्तै यहाँका हरेक सर्वसाधारणलाई कहिले पुल बन्ला र गाउँको मुहार फेरिएला भन्ने धोको कायमै छ । फराकिला समथर फाँटका कारण व्यावसायिक कृषिको प्रचुर सम्भावना भएर पनि त्यसले गति लिन नसकेको वैद्यपानीका विष्णुप्रसाद खनाल बताउनुहुन्छ । “यो फाँटको विकास पुलमा नै अडिएको हो, पुलकै अभावमा यहाँका हरेक सम्भावना खेर गइरहेका छन्”, उहाँले भन्नुभयो । प्राचीन कालमा वैद्यहरूले यहीँको पानीलाई औषधिका रुपमा लिने गरेको र विभिन्न स्वास्थ्य समस्या पनि यहाँको पानी पिएपछि सञ्चो हुने जनविश्वासका कारण ठाउँको नाम वैद्यपानी भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रमा माछापालनसहित तरकारी तथा फलफूलखेतीका धेरै सम्भावना छन् । पछिल्ला वर्षमा बाहिरबाट आउनेको क्रम बढ्दै गएको छ ।
सामाजिक एवं राजनीतिक चेतनाका दृष्टिले भने यो क्षेत्र राणाकालीन समयदेखि नै अग्रस्थानमा रहेको स्थानीयवासी बताउँछन् । राणाकालीन समयमा नै प्रजातन्त्रका पक्षमा क्रियाशील कुविरभक्त खनाल, एकनारायण खनाललगायतकोे योगदान स्थानीयवासीले अझै स्मरण गर्दछन् । राणशासनको विरुद्धमा र प्रजातन्त्रका पक्षमा आवाज उठाउनुभएका कुविरभक्तले बिपी कोइरालाको पोखरा आगमनका क्रममा उहाँको स्वागतार्थ सक्रिय भूमिका निर्वाह गरेकै कारण २०१७ सालपछि सरकारले वारेन्ट जारी गरेको थियो । वारेन्ट जारी गरेपछि उहाँ जोगीको भेषमा प्रवास जानुभएको थियो । उहाँले तत्कालीन समयमा क्याङ्दी फाँटको अरौदीमा विद्यालय सञ्चालन गराउन विशेष योगदान गर्नुभएको ८५ वर्षीय मेघनाथ खनालले जानकारी दिनुभयो । अर्का एकनारायण खनाल पञ्चायती शासन व्यवस्थाको विरोध गर्दा १५४ कोर्रा खाएर तीन वर्षसम्म स्याङ्जाको जेलमा पर्नुभएको थियो ।
राजनीतिक चेतनाका दृष्टिले पनि त्यस समयमा नै यो ठाउँ अग्रणी रहेको अनुभव सुनाउँदै मेघनाथले प्रजातन्त्र स्थापना भइसकेपछि तत्कालीन सरकारलाई चुनाव गराउन दबाब दिनका लागि गठित मुक्ति सेनामा पनि यहाँका युवाको सहभागिता रहेको जानकारी दिनुभयो । तत्कालीन सरकारलाई चुनाव गराउन दबाब दिन क्रियाशील मुक्ति सेनाका हतियार २०११ सालतिर आफूले पनि तीन दिनसम्म यहीँ नजिकैको छाङको डाँडोमा कुरेर बसेको अनुभव उहाँले सुनाउनुभयो ।
शुरुमा यस क्षेत्रमा बस्ती विकास नहुँदा अरौंदी नामका जोगीले भट्टी सञ्चालन गरेका र उनैको नामबाट यो ठाउँको नाम नै अरौंदीभट्टी भएको उहाँको भनाइ छ । पुल नहुँदा सबै सम्भावना रोकिएपछि स्थानीयवासी एवं यहाँका राजनीतिक दलले निरन्तर दिएको दबाबका कारण विगत चार वर्षयता पुल निर्माणको क्रममा रहेको स्थानीय समाजसेवी एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चुडामणि खनाल बताउनुहुन्छ । “पुल निर्माण थालिए पनि निर्माणकार्य कछुवाको गतिमा बढ्दा स्थानीयवासीमा निराशा छाएको छ,” उहाँले भन्नुभयो, “पुलसँगै अडिएको समग्र क्याङ्दी फाँटको समृद्धि र विकासलाई गति दिन समयमा नै निर्माण सम्पन्न गराउने तर्फ सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।” पुलसँगै यस क्षेत्रमा बजारीकरणको विकास, कृषिको व्यवसायीकरणका साथै पर्यटकीय रुपमा महत्वपूर्ण यहाँका सिद्ध गुफा, लाटी बराही लगायतको प्रवद्र्धन हुने अर्का स्थानीयवासी विवेक खनाल (विनोद)ले बताउनुभयो ।
(रासस)