काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न आज भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् ।
सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो। कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट साँझ सवा पाँच बजे हुनेछ ।
नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं भिडियो संवादमा सहभागी हुनुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो संवादमा सहभागी हुनुहुनेछ ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुन लाग्नुभएको यो पहिलो औपचारिक कार्यक्रम हो ।
सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा भिडियो कन्फरेन्समार्फत् धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना छ ।
सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।