काठमाडौँ । प्राचीनकालदेखि पशुपति क्षेत्रमा सञ्चालन हुँदै आएको देशोद्वार पूजा एवं जात्रा चलाउने गुठीका धनीलाई जग्गा अधिग्रहण गरेवापत मुआब्जा नदिँदा यस वर्षको जात्रा अन्योलमा परेको छ ।
पशुपति क्षेत्र विकास कोषले विसं २०७२ मा करिब २०० वर्षअघि स्थापना भएको निजी गुठीको जग्गा अधिग्रहण गर्न मोहीलाई मुआब्जा दिए पनि देशोद्वार पूजा सञ्चालन गर्ने गुठीलाई १३ रोपनी जग्गाको मुआब्जा नदिएको गुठियारको गुनासो छ । कोषले ३४ मोहीलाई मुआब्जा दिई देशोद्वार पूजा एवं जात्रा सञ्चालन गर्ने गुठीलाई करिब रु ३० करोड नदिएर प्राचीन संस्कृति मास्न खोजेको गुठियार जलद वैद्यले गुनासो गर्नुभयो ।
चैत्र कृष्ण अष्टमी अर्थात् चैत ४ गतेदेखि शुरु हुनुपर्ने जात्राको पैसा नपाएका कारण यस वर्ष जात्रा चल्ने वा नचल्ने निश्चित छैन । गुठीले पाउनुपर्ने मुआब्जाको जग्गाको पैसामा कोषले गुठी दर्ता, स्थायी लेखा नम्वर (प्यान), बैंक खाता खोले दिन्छु भनी शर्त राखेकामा सबै प्रक्रिया पूरा गरिसक्दा पनि नदिएको गुठियार एवं काठमाडौँ महानगरपालिका– ८ का पूर्वअध्यक्ष सुवर्ण वैद्यले जानकारी दिनुभयो ।
कोषकै नाममा मुआब्जा रकम राखेर वार्षिकरूपमा प्राप्त हुने ब्याजले जात्रा चलाऊ भन्ने प्रस्ताव नमानी गुठियारले बैठकसमेत बहिष्कार गरेको पनि उहाँले बताउनुभयो । पशुपति क्षेत्रको संस्कृति बचाएर समुचित विकास गर्ने लक्ष्यका साथ स्थापना भएको कोषले प्राचीन मौलिक जात्रा मास्न लागेको भन्दै गुठियार क्रुद्ध भएका छन् ।
गुठियार छत्रानन्द वैद्य कोषका केही कर्मचारीले स्वार्थसिद्धिका लागि पदाधिकारीलाई गलत कामका लागि उक्साउने गरेको बताउनुहुन्छ । यस्तो उक्साहटबाट पशुपति क्षेत्रका मौलिक जात्रालगायत पर्व मासिन लागेको उहाँको दुखेसो छ । कोष सञ्चालक परिषद्मा विषय प्रवेश भइसकेकाले निर्णय गरेर कानूनसम्मतरूपमा दिने विषयमा छलफल भइरहेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । वार्षिकरूपमा जात्रा चलाउन आवश्यक रकम दिएकाले कोषले धर्म संस्कृति नमास्ने बरु संरक्षण गरी प्रवद्र्धन गर्ने उहाँको भनाइ छ ।
देशोद्वार पूजा गरी चैत्र कृष्णपक्षमा जात्रा चलाउन करिब २०० वर्षअघि विश्वानन्द वैद्यले निजी गुठीका रुपमा पशुपति पारि तिलगङ्गाको १३ रोपनी जग्गा राखिदिनुभएको थियो । यही जग्गाको आयस्तरले जात्रा चलाउने गरिएकामा पशुपति क्षेत्रको बृहत्तर विकासका लागि विसं २०७२ मा यो ठाउँ अधिग्रहण गरिएको हो ।
(रासस)