तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधबार साँझ एक बालक घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर नजिकै आमासँग विवाह भोजमा जान हिँडेका नेपालीलाई घरदेखि अन्दाजी एक किमी टाढा बाटोमा चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो । चितुवाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ । बालकको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यहाँ चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।
चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ । हालसम्म जिल्लामा सात वटा चितुवा नियन्त्रणमा लिइएको छ ।
(नमूना तस्बिर)