काठमाडौँ । मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ ।
प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उहाँको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उहाँको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ ।
आज बेलुका सम्ममा बिस्ताराबाट निकाल्न सकिन्छ जस्तो लागेको उपचारमा संलग्न चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीले जानकारी दिनु भएको छ ।
तर प्रधानमन्त्री ओलीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने डा. ज्ञवालीले बताउनु भएको छ ।
डा. ज्ञवालीका अनुसार प्रत्यारोपित मिर्गौलाले कस्तो पिसाब बनायो भन्ने कुराबाट बिरामीको अवस्था राम्रो वा नराम्रो थाहा हुन्छ।
साधरणतया मानिसले २४ घण्टाको अवधिमा डेढदेखि दुई लिटर पिसाब फेर्छन्। ओलीले झन्डै ११ लिटर पिसाब फेरिसकेकाले नयाँ मिर्गौलाले राम्ररी काम गरेको चिकित्सकहरुले बताएका छन् ।
डा. ज्ञवाली भन्नुहुन्छ ‘प्रत्यारोपण गर्ने बित्तिकै मिर्गौलाले राम्रोसँग काम गर्यो भने मिर्गौलामा रक्तसञ्चार राम्रो भयो भन्ने बुझिन्छ। मिर्गौलामा रक्तप्रवाह हुने बित्तिकै प्रशोधन हुन थाल्छ। त्यसले गर्दा शरीरमा जम्मा भएको पानी शरीरले फाल्न थाल्छ ।’
पानीको मात्रा राम्रोसँग पुगोस् भनेर सलाइनपानी चलाइराखिएको चिकित्सकले बताएका छन् । आराम गरिरहनु भएका प्रधानमन्त्री ओलीको अवस्था सुधार भएसँगै झोल पदार्थ खुवाउन सकिने अवस्था रहेको बताइएको छ । शरीरले झोल पदार्थ सहजै रूपमा लियो भने ठोस पदार्थ खुवाउने अस्पतालको तयारी छ।
सोमवार अस्पताल भर्ना हुनुभएका ओलीलाई बुधबार विहान १० बजे अप्रेसन थियटरमा लगिएको थियो । १०ः१० बजे प्रत्यारोपण शुरु गरिएको थियो । २ः५० बजे प्रत्यरोपण सम्पन्न भएको थियो भने ४ बजे होस आएको थियो । ४ः१० मा पोष्ट अपरेटिभ वार्डमा सारिएको थियो ।
प्रत्यारोपणको नेतृत्व गरेका प्रा। डा। प्रेमराज ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा पुग्नु भएको छ ।
डा. ज्ञवालीले भन्नुभयो, ‘औषधिका कारण प्रधानमन्त्री ओली प्रायः निदाउने गर्नु भएको छ । तर बिउँझिएका बेला चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा हुनुहुन्छ ।’
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।




















