काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि उनले आज मन्त्री पदबाट राजीनामा दिएका हुन् । खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यहरुको आज राति १२ वजेदेखि कार्यकाल सकिदैछ ।
अर्थमन्त्री खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत राजीनामा दिएका हुन् । मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुनः मन्त्री पदको कार्यभार सम्हाल्ने छन् ।
डा. खतिवडाले अर्थ र सञ्चार मन्त्रीको नियुक्ति लिएर बुधबार सपथग्रहण गर्ने बताइएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित खतिवडालगायत १९ जनाले यसअघि कार्यकाल विभाजनका क्रममा गोलाप्रथा गरिँदा २ वर्षे कार्यकालको चिट्ठा उठाएका थिए । उनीसँगै आजदेखि १९ सदस्यको कार्यकाल सकिएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिदाइ गरेका छन् ।
राजीनमा दिए पनि खतिवडा आगामी ६ महिनासम्म मन्त्री हुन सम्वैधानिक व्यवस्था अनुसार बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा पुनः नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।
आव ०७७/०७८ को बजेट खतिवडाले नै ल्याउन पाउने भएका छन् । डा. खतिवडा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा आएका थिए। प्रधानमन्त्री ओली खतिवडालाई नै दोहोर्याउने पक्षमा थिए । तर नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित गर्ने कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ। सो निर्णयलाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अस्वीकार गर्ने संकेत दिएपछि विवाद कायमै छ ।



















