वीरगञ्ज । शिव मठ पर् राम खेलैए होली……वसन्त ऋतुको आगमनसँगै श्री पञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलको गाउँघर, टोल छिमेकमा गाउने यस्ता माधुर्यता र प्रेम भावका होली गीत कमै मात्र सुन्न थालिएको छ । होली आएसँगै गीत त गाइन्छ तर यस्ता प्रेमभावका गीत भने गाउने मानिसको अभावका कारण गुञ्जिन छोडेको छ ।
कल्याणपुर नगरपालिका–१२ तिलासीका ७० वर्षीय फिरङ्गी सदाले पुर्खौली मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाउँदा दुःखी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँ टोलमा घुमेर फागु पर्वको आगमन भएको जानकारी दिने परम्परा थियो । तर अहिले विस्तारै मेटिँदैछ ।”
अहिले गाउँका युवा वैदेशिक रोजगारीमा छन् भने गीत गाउने बुढापाकाको अभाव हँुदैछ । अहिले ढोल मृदङ्ग नै बज्न छोडेको देखिन्छ । यस अभावमा फागु गीत नै गाइन्छ । पहिलेका होली गीतको मिठास सम्झिएर उदास हुँदै गनौरी सदा भन्नुहुन्छ, “होली गीतमा पहिले उत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्ठता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्परा, माया पिरती एवं विरह मिसिएको हुन्थ्यो । तर अब उच्छृङ्खल गीत आएकाले होली गीतमा माधुर्यता र प्रेम भाव नै भेटिँदैन । सोही ठाउँका रामबाबु ठाकुरको गुनासो पनि त्यस्तै छ ।
“जोगिरा सररर, कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग, कौन ताल पर गौरिया नाचे, कौन ताल पर हम, जोगिरा सरररर…” यो गीत मात्र सुन्न पाइन्छ हिजोआज होलीमा । न त मृदङ्ग ढोल डम्फाको स्वर नै कतै सुन्न सकिन्छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व फागुले ठाकुर, सिरहा जिल्लाको मुसहर बस्तीमा बस्ने ४० वर्षीय गुलावचन्द्र सदालाई मात्र होइन तराईका सबै समुदायलाई समेत प्रभाव पारेको छ । उहाँ भन्नुहुन्छ, “होलीको पौराणिकता अब हराइसकेको छ ।”
होलीका खास गीत नै गाउन छोडिसकिएको गुनासो तराईका ज्येष्ठ नागरिकको छ । भनिन्छ– होलीको तर्क, दर्शन, अलौकिकतालाई गम्भीरतापूर्वक नलिएकाले अहिलेको होली सङ्कीर्ण बन्दै गएको छ । अबको होली, होली नभएर खानपिन र शहरमुखी बढी बन्दैछ । यस गीतमा रमाउने पछिल्लो पुस्ता मात्र होइन अहिलेको पुस्ताले पनि यसको जर्गेना गर्न नसकेकाले यस्तो स्थिति आएको स्थानीयको भनाइ छ ।
पहिलेपहिले बुढापाका रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल डम्फा, तुरकी, बाँसुरी लिएर समूहगतरुपमा होली गीत जोगिरा गाउने गर्थे । एक जना स्थानीय मोहम्मद इसराइल भन्नुहुन्छ, “तर अब त्यो समय हराएर गएको छ, पहिलेको जस्तो गीत छैन नत अहिले गाइने गीतमा होलीको भावना नै भेटिन्छ ।” पुरानो पुस्ता विस्थापित हुने अवस्थामा छ र अहिलेका अधिकांश युवा पुस्ता कामका लागि अरब मुलुक गएकाले संस्कृति संरक्षणको पहल कतैबाट पनि देखिँदैन भन्छन् स्थानीय । होली गीतको संरक्षण र गायन हराउँदै गएको बताउँदै वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका शेषमन पण्डित भन्नुहुन्छ । अबको होली प्रेम र सदभावको नभएर बैराग्य र वैमनस्यतापूर्ण पो हुन गएको हो कि भन्नुहुन्छ उहाँ । होलीमा प्रयोग हुने भागको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रिसराग, द्वेष देखा पर्न थालेकामा उनीहरु चिन्तित छन् ।
पहिलेको होलीमा गाउने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्छ । तर अहिले आधुनिक फिल्मी गीत बजारमा उपलब्ध छन् । कतैकतै त गीतमा अश्लिता पनि देखिन्छ । मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाउने यस्ता होली गीतमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटोको बासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद्को भनाइ छ ।
पौराणिक होली गीतमा वसन्तको सुन्दरता, बासना, प्रेमालापका अतिरिक्त भगवान् सीताराम, शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा छ । ती गीतलाई अहिले भने पश्चिमा गीत सङ्गीतले पछि पारेको छ ।
पौराणिक कथाअनुसार सत्ययुगमा राजा हीरण्यकश्यप अत्याचारी राजा थिए र आफूलाई देउताभन्दा ठूलो भएको घमण्ड गर्दथे । उनका छोरा प्रह्लाद भगवान विष्णुका परम भक्त थिए । हीरण्यकश्यपले छोरा प्रहलादलाई विष्णु भक्तिबाट अलग गराउन होलिका सँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् तर प्रह्लादलाई आगोले केही प्रभाव पार्न सकेन । सोही परम्परालाई निरन्तरता दिँदै जिवन्तता दिन हिन्दू समाजमा फागुन शुक्लपूर्णिमाको रातमा होलिकाको दहनगरी हर्ष बढाइँ गर्ने परम्परा रही आएको छ ।
वसन्तऋतुको आगमनसँगै वसन्तोेत्सव पर्वका रुपमा मनाइने होली पर्वका अवसरमा गाउने जोगिरा लोप हँुदै गएकाले संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्थाले काम गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ । यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने माग संस्कृतविद्हरुले पन राख्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालय मौथिली केन्द्रीय विभागका पूर्वप्रमुख परमेश्वर कापडले मिथिलाको परम्परा, धर्म संस्कृतिसँग जोडिएका यस्ता गीत जीवन्त बनाइराख्नु समाजको कर्तव्य हो भन्नुभयो । यी गीतको महत्व र लोकप्रियतालाई कायम राख्न सबैले काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
चार ऋतुमध्ये वसन्त ऋतुको महत्व ठूलो छ । दलान संस्कृतिको अभिन्न अङ्गका रुपमा रहेको होली गीत खासगरी रातको समयमा बुढापाका तथा युवाले दलानमा भेला भएर सामूहिकरुपमा गाउने परम्परा छ । तर देशमा विगतको सशस्त्र द्वन्द्वका कारण सुरक्षाका कारण रात्रिकालीन सामूहिक संस्कृतिको यो परम्परा पनि लोप हँुदै गएको हो ।
लोप हँुदै गएको यो संस्कृतिलाई बचाउन विगत २५ वर्षदेखि मिथिला नाट्य कला परिषद् (मिनाप) ले प्रत्येक वर्ष होलीको समयमा दुई दिवसीय फागु गीत, डम्फा प्रतियोगिता र महामुर्ख सम्मेलन गरी संस्कृति जोगाउने प्रयत्न गरेको छ । महेन्द्र विन्देश्री बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा मैथिली संस्कृतिका जानकार श्यामसुन्दर शशिले देश सङ्घीयतामा गएकाले लोप हुँदै गएकका यस्ता संस्कृति जोगाउन प्रदेश सरकारले विशेष योजना बनाएर अघि बढ्नुपर्छ भन्नुभयो । (रासस)