काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । कार्कीको घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ।
सीसीटीभी फुटेजमा बिहान १०ः८ बजेको चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको प्रहरीले जनाएको छ । भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपाल समातेर भुइँमा बजारेको देखिएको प्रहरीले जनाएको छ ।
पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला उक्त घटना भएको देखिन्छ। एकाबिहानै पशुपति दर्शन गर्न गएका पूर्वसचिव कार्की घर फर्किँदा विभत्स दृश्य देखेका थिए।
कार्कीले चिच्याएपछि वरपर हल्लाखल्ला भएपछि प्रहरी घटनास्थल पुगेको थियो । अर्धचेत अवस्थामा भेटिएकी मुनालाई स्टार हस्पिटल पुर्याएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
कामदार विजय चौधरी पनि मृत भेटिएका थिए । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ । चौधरीले के कारणले कार्कीको हत्या गरे र किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन ।