काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । वरिष्ठ नेता खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको बताइउको छ ।
कार्यदललाई १० दिनको समय दिइएको बताइएको छ । संयोजक खनाल एमसीसीबारे मौन छन् भने रावल प्रखर विरोधी र ज्ञवाली समर्थन जनाउँदै आएका नेता हुन् ।
केन्द्रीय कार्यसमिति बैठकमा भने बहुसंख्यक नेताहरुले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नहुने बताएपछि नेकपाले कार्यदल गठन गरेको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले एमसीसी चाडो पास गर्नुपर्ने बताउँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा, समाजवादी दल एमसीसी पास गर्नुपर्ने पक्षमा छन् ।



















