काठमाडौं । गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
प्रहरीले गायिका राउत प्रकरणबारे अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
प्रहरीले बुझाएको रायको आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आज अभियोग पत्र दायर भएको थियो ।
प्रहरीले थुनछेक बहसका लागि राउतलाई जिल्ला प्रशासन कार्यालय पुर्याएको थियो । आजै बहस सकिए पछि प्रमुख जिल्ला अधिकारी दाहालले धरौटीमा राउतलाई छाड्न आदेश दिएका हुन् ।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएपछि फेसवुक लाइभ मार्पmत उनले प्रहरी प्रशासन माथि नै गालीग्लोज गरेकी थिइन् ।
राउतको भिडियो भाइरल भएपछि उनीसँग विवाद भएकी प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् । उजुरी दिएको चार दिनपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।