काठमाडौं । आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख रकम लुटेर भागेका ६ जनालाई प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेको छ । पुर्व सैनिक बच्चुराम गुरुङबाट पचास लाख लुटेर फरार भएका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले ४८ घण्टाभित्र पक्राउ गरेर आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा रसुवा उत्तरगया गाउँपालिका–३ खड्कुका ३६ वर्षीय तेन्जिङबहादुर तामाङ, नुवाकोट दुप्चेश्वर गाउँपालिका–६, कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिलका–५ गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, दाङ पुरन्धारा–९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर, रामेछाप मन्थली नगरपालिका–९ का ३६ वर्षीय कुमारबहादुर बुढाथोकी र रसुवा उत्तरगया गाउँपालिका–२ खड्कुका २८ वर्षीय संजित वाइबा रहेका छन्।
माघ ९ गते विहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको शान्तिधाम जाने सडकमा गुरुङलाई भीमबहादुरले मेरो बाजेसँग बल्ने ढुंगा छ भनी ५० लाख रुपैयाँ मागेको र पछि खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेको बताइएको छ ।
सो रकममध्ये उनीहरूबाट १८ लाख ७५ हजार पाँच सय रुपैयाँ नगदसहित ४ थान मोटर साइकल, सुनको औंठी, विभिन्न बैकका चेक र मोबाइलहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले बल्ने ढुंगा, बनझाँक्रीको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर र पूरातात्विक चिज आफूसँग छ भनेर किन्न एकान्तमा बोलाउने र समूह मिली लुटपाट र डकैती गर्ने गरेको प्रहरीले जनाएको छ ।



















