काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको नयाँ वर्षको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै भिडियोमार्फत शुभकामना सन्देश पठाउनुभएको छ ।
नयाँ प्रविधिको प्रयोग गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको सन्देश नेपाली र चिनियाँ दुवै भाषामा रहेको बताइएको छ । राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत राष्ट्रपति सी चिनफिङलाई पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले परराष्ट्र मन्त्रालयमार्फत लिखित र भिडियो सन्देश पनि पठाउनुभएको बताइएको छ । जनवरी २५ देखि १५ दिनसम्म चीनले नयाँ वर्ष मनाउँदै आएको छ । भिडियो सन्देश चीनले प्रशारण गरेपछि मात्रै नेपालका मिडियामा दिइने बताइएको छ ।



















