काठमाडौं । नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा पत्र बुझाएको बताएका छन् । ९० दिनको समयसीमा दिएर उनीहरुले बिहीबार व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् ।
व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको आरोप लगाउँदै उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन् ।
तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नआउने उनीहरुले स्पष्ट गरेका छन् ।
विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउने गरेको र नेपालीले महिनामा ९५ घण्टा जहाज उडाउने गरेको पाइलटहरुले बताएका छन् । विदेशी पाइलटले हप्तामा २ दिन छुट्टी पाउँने तर नेपालीले भने हप्तामा एकदिन मात्र छुट्टी पाउँने गरेको उनीहरुको गुनासो छ ।
त्यस्तै विदेशीले महिनामा १५ लाख तलब पाउँने र कर पनि व्यवस्थापनले तिरिदिने गरेको छ भने नेपालीले ५ लाख तलब मात्र पाउँने गरेको र कर आफैले तिर्नु परेको पाइलटहरुको गुनासो छ ।
नेपाल एअरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।





















