काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन दिएको छ ।
आज बसेको बैठकले राणाकालीन सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्टेट हाउस ‘विदेशी पाहुना गृह’ बनाउन निर्देशन दिएको हो ।
समितिकी सभापति कल्याणली खड्काले पुरानो कला संस्कृति झल्कने गरी नयाँ भवन बनाउन निर्देशन दिएको बताउनु भएको छ । सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको बताइएको छ ।
समितिको निर्देशनसँगै ४ वर्षदेखि प्लाष्टिकले बारेर खण्डहर अवस्थामा रहेको भवन भत्काउने बाटो खुलेको छ । पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले विदेशी पाहुना आउँदा मिटिङ गर्ने डिनर गर्ने हल चाहिने परराष्ट्र मन्त्रालयको माग रहेको र त्यसलाई सम्बोधन गर्न स्टेट गेस्ट हाउस वा स्टेट हल बनाउन सकिने बताएका छन् ।




















