काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरी र झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंबीचको घुस विवाद काण्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।
२० करोड घुस मागेको आरोप लगाउँदै प्रसाईंले गिरीविरुद्ध अख्तियारमा उजुरी हालेका हुन्।
केही दिनअघि प्रसाईंले पत्रकार सम्मेलन गरेर डा. गिरीले घुस मागेको आरोप लगाएका थिए । तर डा। गिरीले बी एण्ड सी कलेजले कागजपत्र पूरा नबुझाएकाले सम्बन्धन नदिएकोे बताउँदै सोही कारण आफूमाथि घुस मागेको आरोप लगाएको बताउँदै आएका छन् ।
वत्तिसपुतलीस्थित द्वारिका होटलमा भएको भेटमा डा. गिरीले आफूसँग घुस मागेको प्रसाईको आरोप छ । तर गिरीले आफू सो होटलमा बषौंदेखि नगएको र प्रसाईसँग पनि अफिसमा वाहेक भेट नभएको दावी गर्दै आएका छन् । प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर अख्तियारमा उजुरी दिएको बताएका छन् भने अदालतसम्म जाने चेतावनी समेत दिएका छन् । गिरीले अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले सो सम्पूर्ण सम्पत्ति जफत गर्न माग पनि गरेका छन्।
यता गिरीले पनि आफूमाथि लागेको आरोप उपर कानूनी उपचार खोज्ने बताएका छन् ।




















